काठमाडौं – एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् ।न्यौपानेले राजीनामा बुझाए पनि सञ्चालक समितिले स्वीकृत भने गरिसकेको छैन।
२०७५ मंसिरमा सीईओ नियुक्त भएका न्यौपानेलाई २०७८ कात्तिकमा पुनः सिईओ बनाउँदै निरन्तरता दिइएको थियो । २०८३ कातिकसम्म कार्यकाल भएपनि वित्तीय सूचकहरू खराब हुँदै गएपछि उनी बीचमै बाहिरिन खोजेका हुन् ।
न्यौपानेले आक्रामक रूपमा व्यवसाय विस्तार गरेको र त्यसबाट बैंकमा समस्या देखिन थालेको बेला उनी बाहिरिंदा नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले तत्कालै राजीनामा स्वीकृत गर्न नचाहेको स्रोतहरूले बताएको छ ।
न्यौपाने सीईओ बनेपछि बैंक व्यवसाय विस्तारमा आक्रामक रूपमा लागेको थियो। उनको नेतृत्वमा व्यवसाय बढाउने नाममा कर्जा प्रवाह गरेपछि बैंकको सूचक बिग्रिदै गएको हो।
बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमाससम्ममा खुद नाफा १३ दशमलव शून्य ३ प्रतिशतले घटेको छ । आव २०८०/८१ को पुससम्ममा १ अर्ब ९० करोड रुपैयाँ नाफा गरेको बैंकले आव २०८१/८२ को सोही अवधिमा १५ करोड १७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ।
वितरणयोग्य नाफा ऋणात्मक रहेको बैंकको खराब कर्जा पनि ह्वात्तै बढेको छ। गत आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा १ दशमलव १९ प्रतिशत रहेकोमा यस वर्ष ४ दशमलव ६१ प्रतिशत पुगेको छ ।
बैंकको सूचकहरू बिग्रिदा लगानीकर्ता निरास हुँदै आएका छन् । बैंकले गत आव २०८०/८१ को नाफाबाट लाभांश वितरण गरेको छैन। यसअधि बैंकले राष्ट्र बैंकले तोकेअनुसार प्राथमिक पूँजीकोष कायम गर्न नसक्दा आव २०७७/७८ र २०७८/७९ मा लाभांश वितरण गर्न पाएको थिएन ।
आव २०७१९/८० मा एन.आई.सी. एशियाले २९ प्रतिशत बोनस शेयर र १ दशमलव ५२ प्रतिशत नगद गरी ३० दशमलव ५२ प्रतिशत लाभांश वितरण गरेको थियो । नेपाल राष्ट्र बैंकले चालू आवको दोस्रो त्रैमासमा यसका सीईओका साथै सञ्चालकलाई समेत कारबाही गरेको छ।
राष्ट्र बैंकका अनुसार सञ्चालक तथा परिवारका सदस्य एवं सम्बद्ध संस्थालाई प्रचलित ब्याजदरभन्दा बढी ब्याज दिएको पाइएको छ। यस्तै बैंकका सञ्चालक, परिवारका सदस्य एवं सम्वद्ध संस्थाको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा ब्याज फिर्ता गराइएको र आगामी दिनमा यस प्रकारका काम नगर्ने गरी सीईओ न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालकद्वय त्रिलोकचन्द्र अग्रवाल तथा रामचन्द्र सपर्कलाई नेपाल राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा २ (क) बमोजिम नसिहत दिइएको राष्ट्र बैंक स्रोतले बताएको छ।
स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पूँजीकोष तथा जोखिमभार, व्याजदर एवं संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशन पालना गरेको नपाइएकाले परिपालना गर्न एवं सुधारको कार्ययोजना बनाई लागू गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ। बैंकले गतवर्ष अन्य क्षेत्रको कर्जालाई आवासीय कर्जा शीर्षकमा परिवर्तन गरेको भन्दै राष्ट्र बैंकले स्थलगत अनुसन्धान गरेको थियो। यसैगरी नाफा देखाउन लघुवितलाई ऋण दिने, भोलि फिर्ता गरेर सेवा शुल्क उठाउने गरेको आरोप समेत बैंकलाई छ।

