काठमाडौं । राजसंस्था पुनःस्थापनाको मागसहित काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनमा प्रहरीको गोली लागि निधन भएका युवा सविन महर्जनको शव अझै उठेको छैन । आर्थिक क्षतिपूर्ति र शहीद घोषणाको माग गर्दै सविनका परिवारले शव उठाउन इन्कार गरेका छन् ।
कीर्तिपुर–४ गाम्चाका २९ वर्षीय सविनलाई तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेको थियो । छातीमा गोली लागेर गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पु¥याइएपनि ज्यान गएको थियो । टिचिङ अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरे ।
संयुक्त जनआन्दोलन समितिले सविनलाई राजावादी आन्दोलनको पहिलो शहीद घोषणा गरेको छ । सविन एक सामान्य यातायात मजदुर हुन् । उनी काठमाडौं–हेटौंडा रुटमा सुमो चलाउँथे ।
परिवारका अनुसार शुक्रबार बिहान सविन बल्खुमा गाडी बनाउनुपर्ने भन्दै घरबाट मोटरसाइकल लिएर निस्किएका थिए । परिवारलाई आन्दोलनमा सहभागी भएकोबारे थाहै थिएन । दिउँसो श्रीमानलाई फोन गर्दा प्रहरीले उठाएपछि छाँगाबाट खसेझैँ भएको सविनकी श्रीमती भविषाले बताएकी छन् । प्रहरीले श्रीमान गम्भीर घाइते भएर अस्पताल ल्याइएको जानकारी दिएका थिए । तर, भविषा अस्पताल पुग्दा सविनलाई मृत घोषणा गरिसकिएको थियो ।
सविन र भविषाका एक छोरी छन् । यसअघि ११ जनाको संयुक्त परिवारको आर्थिक दायित्व सविन एक्लैले बोक्दै आएका थिए । उनको निधनपछि परिवारकै बिचल्ली भएको छ । सविनको शव उठाउन परिवारले मानेका छैनन् । श्रीमानलाई शहीद घोषणा गर्नुपर्ने र परिवारलाई ५० लाख क्षतिपूर्ति दिइनुपर्ने परिवारको माग छ ।
संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि परिवारको मागमा समर्थन जनाएका छन् । राप्रपाको शनिबार बसेको बैठकले आन्दोलनमा निधन भएका सविन र पत्रकार सुरेश रजकलाई शहिद घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने माग गरेको थियो ।

