काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू सङ्क्रमणकालीन न्यायलगायत विषयमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले काठमाडौंमा वार्ता जारी छ ।
छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलको पनि सहभागिता रहेको छ । यसअघि, गत चैत ११ गते तीनै नेताबिच सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगसत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न पुनः सिफारिस समिति गठन गर्ने सहमति भएको थियो ।
त्यसैअनुसार पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा.अर्जुनबहादुर कार्की, मानव अधिकारकर्मी स्टेला तामाङ र लिली थापा सदस्य रहेका छन् ।

