काठमाडौँ, असार २९ – सरकारले सुरूमा नै प्राथमिकता दिएका पूर्वाधार योजनाहरूमा उल्लेखनीय प्रगति भएको दाबी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको मुख्य उद्देश्य शुरू गरेका कामहरूलाई सम्पन्न गर्नु रहेको भन्दै सिद्धबाबा सुरुङमार्गको काम उल्लेखनीय गतिमा अघि बढिरहेको बताएका छन्।
उनका अनुसार, “हामीले सरकारमा आएपछि भनेका थियौं – हाम्रो मुख्य जोड थालेका काम सक्ने हो।” यही क्रममा सिद्धबाबा सुरुङमार्गको निर्माण कार्यमा पछिल्लो एक वर्षमा ४३ प्रतिशत प्रगति भएको जानकारी दिएका हुन्।
पर्यटन तथा पूर्वाधार विकासमा योगदान पुर्याउने विश्वासका साथ अघि बढाइएको यो सुरुङमार्ग परियोजना बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पर्दछ। सडक दुर्घटनाको जोखिम न्यूनीकरण र सहज यातायात प्रवाहका लागि महत्वपूर्ण मानिने यस सुरुङमार्गको कुल लम्बाइ करिब १ किलोमिटर रहनेछ।

