काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान गएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अति विशिष्ट कक्षमा आयोजित विदाइ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी तथा नेपालका लागि जापानी राजदूत उपस्थित थिए।
राष्ट्रपति पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी तथा राष्ट्रपति कार्यालयका पदाधिकारी सहभागी छन्। भ्रमण सकेर राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्कने कार्यतालिका छ।
परराष्ट्र मन्त्रालयका अनुसार यो भ्रमणले नेपाल–जापानबीच लामो समयदेखि रहँदै आएको मित्रता, सहयोग र कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। जापान भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य र भविष्यका साझेदारीका विषयमा छलफल हुने बताइएको छ।

