काठमाडौं — स्पेनका युवा टेनिस सनसनी कार्लोस अल्काराजले अष्ट्रेलियन ओपनको उपाधि जित्दै पुरुष टेनिसमा नयाँ इतिहास रचेका छन्। आइतबार सम्पन्न फाइनलमा सर्बियाका दिग्गज खेलाडी नोभाक जोकोभिचलाई पराजित गर्दै अल्काराजले करियर ग्रान्ड स्लाम पूरा गर्ने सबैभन्दा कान्छा पुरुष खेलाडी बन्ने कीर्तिमान कायम गरेका हुन्।
२२ वर्षीय अल्काराजले अनुभव र दबदबाका साथ खेल सुरु गरेका जोकोभिचविरुद्ध प्रभावशाली पुनरागमन गरे। खेलको पहिलो सेट २–६ ले गुमाए पनि त्यसपछि उनले खेलको लय आफ्नो पक्षमा फर्काउँदै बाँकी तीन सेट ६–२, ६–३ र ७–५ ले जिते।
३८ वर्षीय जोकोभिचले सुरुआती चरणमा खेल नियन्त्रणमा राखे पनि अल्काराजले बेसलाइनबाट आक्रामक खेल प्रदर्शन गर्दै फाइनलको नतिजा उल्ट्याएका हुन्। उपाधि जितेसँगै अल्काराज उत्साहमा कोर्टमै ढलेर विजय मनाउँदै देखिएका थिए।
हार व्यहोरे पनि ३४ पटकका ग्रान्डस्लाम विजेता जोकोभिचले खेल भावना देखाउँदै नेट पार गरी अल्काराजलाई अँगालो हाले। यस हारसँगै जोकोभिचको २५औँ ग्रान्डस्लाम उपाधि जित्ने सपना अधुरै रह्यो।
खेलपछि १० पटकका अष्ट्रेलियन ओपन विजेता जोकोभिचले भविष्यबारे अनिश्चितता व्यक्त गर्दै मेलबर्नमा पुनः प्रतिस्पर्धा गर्ने वा नगर्ने विषय खुला रहेको बताए। १५ हजारभन्दा बढी दर्शकसामु उनले आगामी ६ देखि १२ महिनामा आफ्नो करियरमा परिवर्तन आउन सक्ने संकेतसमेत गरे।
यो उपाधि अल्काराजको सातौँ ग्रान्डस्लाम उपाधि हो। उनले सबैभन्दा कम उमेरमा चारै ग्रान्डस्लाम जित्ने जोकोभिचको कीर्तिमान तोड्दै इतिहासमा नाम लेखाएका छन्। अल्काराज चारै ग्रान्डस्लाम जित्ने नवौँ पुरुष खेलाडीसमेत बनेका छन्।

