काठमाडौं — आईसीसी टी–२० विश्वकप आज (शनिबार)देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। यस संस्करणका खेल भारतका पाँच शहरका पाँच स्टेडियम र श्रीलंकाका दुई शहरका तीन मैदानमा आयोजना हुनेछन्।
प्रतियोगितामा कुल ५५ खेल रहेका छन्।
भारततर्फ अहमदाबादको नरेन्द्र मोदी स्टेडियम, कोलकताको इडेन गार्डेन, दिल्लीको अरुण जेट्ली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र चेन्नइको एमए चिदम्बरम स्टेडियममा विश्वकपका खेल हुनेछन्।
नेपालले समूह चरणका आफ्ना चारै खेल मुम्बईको वानखेडे स्टेडियममा खेल्ने तालिका छ।
श्रीलंकामा भने कोलम्बोस्थित आर. प्रेमादासा स्टेडियम र एसएससी क्रिकेट मैदान तथा क्यान्डीको पालकेले क्रिकेट स्टेडियममा खेलहरू आयोजना हुनेछन्।
विश्वकपको पहिलो दिन आज तीन खेल हुनेछन्। उद्घाटन खेल श्रीलंकाको कोलम्बोस्थित एसएससी क्रिकेट मैदानमा पाकिस्तान र नेदरल्यान्ड्सबीच बिहान सवा ११ बजे सुरु भएको छ। भारतमा आज दुई खेल हुनेछन्। कोलकताको इडेन गार्डेनमा समूह ‘सी’ अन्तर्गत स्कटल्यान्ड र वेष्ट इण्डिजबीचको खेल दिउँसो सवा ३ बजे हुनेछ। यही समूहमा नेपाल पनि रहेको छ।
पहिलो दिनको अन्तिम खेलमा शनिबार राति सवा ७ बजे घरेलु टोली तथा साविक विजेता भारतले अमेरिकासँग मुम्बईको वानखेडे स्टेडियममा प्रतिस्पर्धा गर्दै विश्वकप यात्रा सुरु गर्नेछ। नेपालले भने आइतबार दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

