सबैको होस खुलोस्
हिजोदेखि २०८२ साल शुरु भयो। अस्तिसम्म ८१ साल थियोे। साल २०८१ नया नेपालका हिमायती कामरेड पुष्पलालको जन्म-शताब्दी वर्ष वा साल थियो । पुष्पलालले नेपाल र नेपाली समाजको सुख समृध्दि र उज्वल भविष्यको लागि नेपाली समाजलाई साम्यवादतर्फ उन्मुख गराउन नेपाल र नेपाली समाजको बैज्ञानिक वा भौतिकवादी अध्ययन गरि प्रगतिसिल कार्यक्रम प्रस्तुत र क्रान्ति सम्पन्न गर्ने कार्यपध्दतिका साथ देशभर सगठन विस्तार गर्नुभयो। यो शताब्दीभरमा उहाँको विचारले मूर्तरुप लिइसक्नु पर्थ्यो। तर अफशोष! उहाँको जन्मशताब्दी बर्ष सँगै उहाँको विचारको वैचारिक अवसानको आभास भइरहेछ।
लाग्छ , के उहाँ विचारमा सहि हुनुहुन्नथ्यो? वा उहाँको विचार बुढोपुरानो भयो। साँचोकुरा त बुढै नहुने कालजयी त विचारैनै हो। मान्छे बुढो हुन्छ, मर्छ।तर उसको विचार कालजयी बनेर समाजलाई हाँकिरहन्छ, अगाडि बढाइरहन्छ। कार्ल मार्क्सको मृत्यु भएकै पनि १४७अौं वर्ष भइसकेको छ। तर मार्क्सको विचारले अहिलेपनि दुनियालाई पछाडिनै छोडेको छ। समय जति बढदै जान्छ,मार्क्सको विचार वा मार्क्सवाद उतिनै नया हुँदैजान्छ। वर्तमान विश्वमानै कति देशहरु त उनको विचारबाटै चलिरहेका छन। त्यस्तै कतिपय देशहरु मार्क्सवादबाट निर्देशित छन, कतिपय देशहरु मार्क्सवादलाई राज्य व्यवस्थामा मूर्तरुप दिन संघर्षरत छन। त्यस्तै कतिपय मार्क्सवादी विचारबाट प्रभावित, प्रेरित र प्रेरणालैस छन।मार्क्सवाद यति उच्च, व्यापक, बैज्ञानिक र अमर छ कि सुदुर दुर भविष्यसम्म समाजले आफ्नोे सबै प्रकारको विकास गर्न सक्छ। मार्क्सवादमा मानिसहरु बुढो हुन्छन तर मार्क्सवाद नवजवान भएर अगाडि बढ्छ । त्यसैले सहि विचार न बुढो हुन्छ न मर्छ। दुश्मनहरु भन्दा पनि दुष्टहरुको संघर्षमा परिस्थितिवश यो दुब्लो पातालो र जीर्ण हुनसक्छ तर मर्दैन, मर्न सक्तैन।
नेपालको सन्दर्भमा पुष्पलाल विचारको पनि यही सत्य हो। तर अहिले पुष्पलाल जन्मशताब्दी वर्षको विदाई सँगसँगै पुष्पलाल विचार अर्थात सहि मानेमा नेपालको कम्युनिस्ट आन्दोलनको पनि अवसान करिब नै भएको छ। यो झट्ट नउदानेगरि अस्ताउँदो छ। दुष्ट सामन्ती र साम्राज्यवादी दलालहरुले छद्मरुप लिई वर्गसंघर्षको नवजनवादी क्रान्तिकारी आन्दोलनलाई दुश्मनहरुकै हातमा सुम्पिएर उठनै नसक्नेगरि पछारिदिएकोअहिलेको यो अवस्था छ। यदि यसो नहुदोहोत अहिले राजावादीहरुको नभएर सडक नवजनवादीहरुको कब्जामा हुने थियोे। प्रश्न गणतन्त्र कि राजतन्त्र जस्तो प्रतिगामी प्रश्न नभएर सामन्ती-दलाल गणतन्त्र कि नवजनवादी गणतन्त्र भन्ने प्रगतिशील प्रश्न हुने थियो।
तर अब यस्तो प्रश्नको तुरुन्तै संभावना देखिएको छैन। किनकि जनताको पहिलो पिंडि अस्तव्यस्त छ, दोस्रो पिंडि यिनै सामन्ती साम्राज्यवादी दलालहरुको अघिपछि रल्बलिंदै र सल्बलिंदै यिनैलाई काङ्ग्रेस र कम्युनिस्ट मानेर होसहराम बनेको छ । धमिलो कुवाभित्र उनीहरु राजनीतिकरुपले कति संङ्लङ्छन वा धमिलै रहन्छन् अन्योल छ। तेस्रो नयाँ पिंडीले पहिलेको अवस्था भोग्न देख्न पाएन। अहिले आफ्नै अगाडिको जीवनको जटिलता छिचोल्ने पिडाले यो पिंडि ग्रस्त छ। फेरिपनि पछिल्लो यही पिंडिलाई आधार पिंडिकोरुपमा नवजनवादको वास्तविक राजनीतिमा उतार्ने हिसाबबाट अहिले नवजनवादी क्रान्तिको ठोस जगमा कम्तिमा राजनीतिक संरचना तय गर्न सक्नु आजका पुष्पलाल विचार वा नवजनवादी क्रान्तिका हिमायतीहरु तथा अरु सबै क्रान्तिकारीहरु प्रतिको अपेक्षा हो।
तर पुष्पलालको नीतिमा आवद्धवान तथा आस्थावान यो वा त्यो जोकोही होस् परिस्थितिलाई नजरअन्दाज गरि आफुआफैमा महाविज्ञ, महापुष्पलालवादी, महान क्रान्तिकारी राजनीतिज्ञको इगोवादमा फसेर खिइदै र सकिदै जानुलेगर्दा दुष्ट हुन कि इष्ट सबैका अनेकौं अनेकौं असत्य र झूटको खात भित्र दबेर एउटा सत्य अवसानको नजिक पुगिरहेको छ। सबै झूटको पर्दाफास गरि उक्त सत्यलाई दब्न नदिइ आम जनसमक्ष उजागर गरि क्रान्तिकारी उभार भर्न यस नववर्ष २०८२ सालमा सबैको होस खुलोस्…। आम नेपाली सचेतन भइ जागुन्, अग्रगामी बनुन् ,प्रगतिशील क्रान्तितिर लागुन् , नव वर्षको यही सबैमा शुभकामना छ।
==========आहत=============

