सरकारले विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गर्ने दृढ प्रतिबद्धता जनाएको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले शिक्षकहरूसँगको वार्ता र संवादलाई निरन्तरता दिँदै शैक्षिक गतिविधिमा अवरोध नहोस् भन्ने उद्देश्यले महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकले एसइई उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई मध्यनजर गर्दै शिक्षकहरूलाई आन्दोलन स्थगन गरी विद्यालय फर्कन आह्वान गरेको हो।
शिक्षामन्त्री विद्या भट्टराईले सरकार शिक्षकहरूको मागप्रति अत्यन्त गम्भीर रहेको स्पष्ट पारिन्। उनले शिक्षकहरूलाई विद्यार्थी र अभिभावकको हितलाई ध्यानमा राखी आफ्नो कार्यस्थलमा फर्कन अपील गरिन्। शिक्षामन्त्री भट्टराईले संवादको माध्यमबाट मागहरूको यथोचित सम्बोधन गर्ने र शिक्षा क्षेत्रको सुधारमा सहकार्य गर्ने सरकारको अठोट रहेको बताइन्।

