काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष नेपालीहरूको महान् चाड बडादसैँको दशौं दिन विजया दशमीको अवसरमा टीका लगाईनन्। व्यक्तिगत रुपमा मात्र उनले टीका नलगाएकी हैनन्, विजया दशमीका अवसरमा सर्वसाधारणलाई पनि टीका लगाउने कार्यक्रम गरिनन् ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद घटना र थुप्रै घाइते भएको पीडा अझै ताजा रहेकाले यस वर्ष टीका लगाउने कार्यक्रम नगरिएको प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार यस वर्ष प्रधानमन्त्री कार्कीले टीका नलगाउने मात्र नभई सर्वसाधारणलाई टीका लगाउने कार्यक्रमसमेत नराखिएको हो । मुलुक पूरा शोकमा भएकोले आफूले खुशियाली मनाउन नसकेको प्रधानमन्त्री कार्कीले बताएको सचिवालयले बताएको छ ।