काठमाडौँ । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी समुद्री तटमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सिड्नी प्रहरीले एक अज्ञात समूहको आक्रमणमा केही व्यक्तिको मृत्यु भएको पुष्टि गर्दै घटनामा संलग्नता रहेको आशङ्कामा दुई जनालाई हिरासतमा लिइएको जनाएको छ।
घटनाका बेला यहूदी समुदायका सदस्यहरू साँझमा दीप प्रज्वलन गरी मनाइने आठ दिन लामो यहूदी पर्व हनुक्का मनाउन छुट्टीको अवसरमा समुद्र तटमा भेला भएका थिए।
‘अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)’का अनुसार घटनामा घाइते भएका कम्तीमा १६ जनालाई अस्पताल पुर्याइएको छ भने अन्य धेरैको घटनास्थलमै उपचार भइरहेको छ।
अस्ट्रेलियाको यहूदी सङ्घका प्रमुख रोबर्ट ग्रेगरीले हनुक्का कार्यक्रमका क्रममा भएको यो गोलीकाण्डलाई ‘त्रासदीपूर्ण तर पूर्ण रूपमा पूर्वानुमानित’ घटना भएको बताएका छन्।
फ्रान्सको समाचार संस्था एएफपीसँग कुरा गर्दै ग्रेगरीले “अल्बानिज सरकारलाई धेरै पटक चेतावनी दिइएको थियो तर यहूदी समुदायको सुरक्षाका लागि पर्याप्त कदम चाल्न सरकार असफल भयो,” भनेका छन्।

