काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सरकारलाई आफ्नो सम्पूर्ण ध्यान चुनावतर्फ केन्द्रित गर्न सुझाव दिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निर्वाचनलाई प्रभावित नहुने गरी सरकारका सबै गतिविधि अघि बढाउन आग्रह गरेका हुन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले अघिल्ला समयको तुलनामा अझ तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन राष्ट्रपति पौडेलले नेपाली सेनासहित सबै सुरक्षा निकायलाई निर्देशन दिएका थिए।
कार्यक्रममा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीले राष्ट्रपति पौडेलसमक्ष परिषद्को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेकी थिइन्।
सो अवसरमा राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा देखिएका तथा भविष्यमा आइपर्न सक्ने सुरक्षा चुनौतीहरूको आँकलन गर्दै राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्नु पर्ने आवश्यकता औंल्याउँदै निर्धारित मितिमा प्रतिनिधिसभा निर्वाचन हुने विश्वास व्यक्त गरे।

