काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेका पक्षमा आउने दाबी गरेका छन्। बागमती प्रदेश सङ्गठन कमिटीले काठमाडौँमा आयोजना गरेको प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले परिणामलाई पार्टीको पक्षमा मोड्ने आत्मविश्वास व्यक्त गरे।
महासचिव पोखरेलले पार्टीले विभिन्न गतिविधि सञ्चालन गरिरहे पनि जनताको घर–घरमा पुगेर प्रत्यक्ष संवाद गर्न नसकिएको स्वीकार गरे। “हामी धेरै कार्यक्रम गरिरहेका छौँ, तर जनताको घर–घरमा पुगेर संवाद गर्न सकेका छैनौँ। यो हाम्रो कमजोरी हो,” उनले भने, “पहिले हामी प्रत्येक व्यक्तिको घरमा पुगेर संवाद गर्थ्यौँ, एमाले बनाउन मेहनत गर्थ्यौँ। पछिल्लो समय भने उम्मेदवारका पछाडि मात्र देखिन थालेका छौँ।”
उनले उम्मेदवारको वरिपरि घुमेर मात्र चुनावी सफलता हासिल गर्न नसकिने स्पष्ट पारे। चुनावी अभियान पार्टीको आन्दोलन र देशको राजनीतिक भविष्यसँग जोडिएको उल्लेख गर्दै पोखरेलले अभियानमा कमजोरी देखिए मुलुक राजनीतिक द्वन्द्वको क्रिडास्थल बन्न सक्ने चेतावनी दिए।
“चुनावी अभियानमा चुक्यौँ भने मुलुक राजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नेछ,” उनले भने, “त्यसैले पार्टीका सबै पंक्ति चुनावी अभियानमा गम्भीर भएर जुट्न आवश्यक छ।”

