काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा पार्टीभित्र विकसित पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यसैबीच, कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र मङ्गलबार पनि जारी रहेको छ। तर संस्थापन पक्षका नेताहरूले भने उक्त विशेष महाधिवेशन पार्टी विधानविपरीत रहेको निष्कर्ष निकालेका छन्।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको संस्थापन पक्षको छलफलले विशेष महाधिवेशन वैधानिक नरहेको निष्कर्ष निकालेको नेताहरूले बताएका छन्। संस्थापनको विरोधका बाबजुद पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन जारी छ। उक्त महाधिवेशनले पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने बताएको छ।
पार्टीभित्र नेतृत्वको रस्साकस्सी चर्किँदै जाँदा विशेष महाधिवेशन पक्षधरहरूले संस्थापन पक्षसँग वार्ता गर्न प्रदीप पौडेल, गुरु घिमिरे, मधु आचार्य र देवराज चालिसे सदस्य रहेको चार सदस्यीय वार्ता समिति गठन गरेको छ। संस्थापन पक्षले भने कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई वार्ताको जिम्मेवारी दिएको छ।
यसैबीच विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्यहरु पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन् । विशेष महाधिवेशन झण्डै निष्कर्षतिर पुग्न लागेको बेला डाकिएको केन्द्रीय समिती बैठकमा सहभागी हुनुको कुनै अर्थ नरहने उनीहरूको तर्क छ । अब विशेष महाधिवेशन आफ्नै ढंगले निष्कर्षमा पुग्छ, उनीहरूको दाबी छ ।

