काठमाडौँ — सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनएचसीएल) बीच एनपीएस (नेसनल कार्ड स्विच)अन्तर्गत डोमेस्टिक कार्ड स्किम ‘नेपाल पे’ कार्डको प्रमुख सदस्यताका लागि सम्झौता भएको छ।
सम्झौताअनुसार एनपीएसलाई डोमेस्टिक कार्ड प्रयोगमार्फत हुने कारोबारको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चित गर्ने केन्द्रीय भुक्तानी पूर्वाधारका रूपमा प्रयोग गरिनेछ। यसले स्वदेशमै कार्ड भुक्तानी प्रणालीलाई थप सुरक्षित, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको सानिमा बैंकले जनाएको छ।
सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ वटा कार्यालय र १२७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

