बागलुङ । बागलुङ जिल्लामा चालु आर्थिक वर्षमा करिब २६ करोड ९० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन तथा बिक्री भएको छ। सुन्तलाखेतीप्रति किसानको आकर्षण बढ्दै जाँदा उत्पादन पनि वृद्धि भएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ।
गत वर्ष जिल्लामा २६ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो। यस वर्ष त्यसको तुलनामा करिब ४४ लाख रुपैयाँ बढी उत्पादन भएको हो। औसा किराको प्रकोप कम हुनु र मौसम अनुकूल रहनुले उत्पादन बढ्न सहयोग पुगेको ज्ञान केन्द्रका प्रमुख कुमार पुन मगरले जानकारी दिए।
उनका अनुसार पछिल्लो समय बाँझो खेतबारी तथा परम्परागत रूपमा कोदो, मकै, गहुँ र फापर लगाइने बारीमा समेत सुन्तलाखेती हुन थालेपछि उत्पादन क्षेत्र विस्तार हुँदै गएको छ। कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले किसानहरू सुन्तलाखेतीतर्फ आकर्षित भएको उनले बताए।
यस वर्ष जिल्लामा ४ हजार १६९ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। किसानले न्यूनतम प्रति किलो ६५ रुपैयाँमा सुन्तला बिक्री गरेका छन्।
“पहिले बाँझो रहेको जमिनमा पनि अहिले सुन्तला फल्न थालेको छ। हरेक वर्ष सुन्तलाखेती हुने क्षेत्रफल बढ्दै गएको छ,” प्रमुख पुन मगरले भने, “धेरै झन्झट नहुने र कम मेहनतमा राम्रो उत्पादन हुने भएकाले किसानको आकर्षण बढेको हो।”
२०७६ सालमा ५८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएकोमा हाल बढेर ६६४ हेक्टर पुगेको छ। हाल जिल्लाका ३८१ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा सुन्तला उत्पादन भइरहेको ज्ञान केन्द्रले जनाएको छ।
जिल्लाको काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ र भकुण्डे तथा जैमिनी नगरपालिकाको बिनामारे र दमेक क्षेत्रमा सुन्तला उत्पादन बढी हुने गरेको छ।
काठेखोला गाउँपालिका–६ का किसान पशुपति कँडेलले गत वर्ष ६ लाख रुपैयाँको सुन्तला बिक्री गरेकामा यस वर्ष उत्पादन बढेपछि ८ लाख रुपैयाँमा बगानमै व्यापारीलाई बिक्री गरेको बताए। समयमै वर्षा हुँदा उत्पादन राम्रो भएको उनको भनाइ छ। अघिल्लो वर्ष औसा किराले करिब एक लाख रुपैयाँ बराबरको क्षति पुर्याएको उनले सम्झिए।
सोही गाउँका अर्का किसान लोकनाथ कँडेलले गत वर्ष १३ लाख रुपैयाँको सुन्तला बिक्री गरेकामा यस वर्ष १५ लाख रुपैयाँमा बिक्री गरेको बताए। फल दिने बोटको संख्या बढ्नु र मौसम अनुकूल रहनुले उत्पादनमा वृद्धि भएको उनको भनाइ छ।

