काठमाडाैं- गत आर्थिक बर्ष २०८०–८१ मा बैंक तथा वित्तिय संस्थामा सात खर्ब २२ अर्ब रुपियाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको गत आवको कर्जा–निक्षेप सम्बन्धी तथ्यांकले यस्तो देखाएको थियो ।
२०८० असारसम्म बैंक तथा वित्तीय संस्थामा ५७ खर्ब ७१ करोड रुपियाँ निक्षेप थियो । २०८१ असार मसान्तसम्म आउँदा त्यो १२।५१ प्रतिशतले बढेर ६४ खर्ब ९३ रुपियाँ पुगेको छ । अघिल्लो आव २०७९–८० बैकिङ क्षेत्रमा ६ खर्ब १२ अर्ब रुपियाँ निक्षेप थएिको छ।
समीक्षा बर्षको साउनमा एक खर्ब ५९ अर्ब रुपियाँले निक्षेप घटेको थियो । आर्थिक बर्षको सुरुवात लगायतका कारण साउनमा निक्षेप घट्ने गर्छ । सरकारले आर्थिक बर्षान्त अर्थात् असारमा गरेको भुुक्तानी बैंकहरुको खातामा आएर बसेको हुन्छ । त्यसरी खातामा रोकिएको पैसा साउनमा खर्च हुने गर्छ । त्यसले गर्दा साउनमा निक्षेप घट्ने गरेको देखिन्छ । सोहीअनुसार साउनमा निक्षेप घटेको बताइन्छ । त्यसपछि भदौमा एक खर्ब ३२ अर्ब रुपियाँ र असोजमा एक खर्ब ७० अर्ब रुपियाँ निक्षेप थपिएको थियो । कात्तिकमा भने निक्षेप एक अर्ब रुपियाँले घटेको थियो । दशैं तिहार जस्ता चाडपर्वका कारण कात्तिकमा बैंकिङ प्रणालीबाट पैसा बाहिरीएको थियो ।
त्यसपछि मंसिरमा एक खर्ब ६ अर्ब रुपियाँ, पुसमा एक खर्ब १२ अर्ब रुपियाँ, माघमा २२ अर्ब रुपियाँ र फागुनमा ३५ अर्ब रुपियाँ निक्षेप थपिएको थियो । सरकारले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नदिने भएपछि चैतमा निक्षेप २४ अर्ब रुपियाँले घटेको थियो ।
त्यसपछि बैशाखमा २६ अर्ब र जेठमा ७१ अर्ब रुपियाँले निक्षेप बढेको छ । असारमा भने दुई खर्ब ३२ अर्ब रुपियाँले निक्षेप बढेको छ । आर्थिक बर्षान्तका कारण सरकारले असारमा उच्च मात्रामा खर्च गरेको थियो । त्यसले गर्दा बैंकमा निक्षेप बढेको थियो । सरकारले गर्ने खर्च सिँधै बैंकमा आउने हुदाँ निक्षेप पनि उच्च मात्रामा बढ्छ ।
गत आवमा यतिका निक्षेप थपिँदा पनि बैंकहरुको कर्जा प्रवाह भने निराशाजनक नै रह्यो । गत आवमा बैंकहरुको कर्जा प्रवाह दुई खर्ब ९१ अर्ब रुपियाँले मात्रै बढ्यो । २०८० असार मसान्त बैंकहरुको कुल कर्जा प्रवाह ४८ खर्ब ७८ अर्ब रुपियाँ थियो । २०८१ असारसम्म आउँदा त्यो ६ प्रतिशतले मात्रै बढेर ५१ खर्ब ६९ अर्ब रुपियाँ पुगेको छ । अघिल्लो आव २०७९–८० मा एक खर्ब ६४ अर्ब रुपियाँले कर्जा प्रवाह बढेको थियो । त्यसको तुलनामा गत आवमा कर्जा प्रवाह बढेको छ । तर, समग्रमा कर्जा प्रवाह निराशाजनक नै रहेको बैंकहरु बताउँछन् । गत आवमा साउनमा कर्जा प्रवाह १६ अर्ब रुपियाँले घटेको थियो । त्यसपछि भदौमा ५० अर्ब रुपियाँ र असोजमा ८७ अर्ब रुपियाँले कर्जा प्रवाह बढेको थियो ।
त्यसपछि कात्तिकमा १७ अर्ब रुपियाँले कर्जा प्रवाह घटेको देखिन्छ । त्यसपछि मंसिरमा १६ अर्ब रुपियाँ, पुसमा ८६ अर्ब रुपियाँ, माघमा ६ अर्ब रुपियाँ, फागुनमा १ अर्ब रुपियाँ र चैतमा ३६ अर्ब रुपियाँले कर्जा प्रवाह बढेको छ । त्यसपछि बैशाखमा १४ अर्ब रुपियाँले कर्जा प्रवाह घटेको देखिन्छ । त्यसपछि जेठमा २३ अर्ब रुपियाँ र असारमा ३३ अर्ब रुपियाँले कर्जा प्रवाह बढेको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो आवमा तरलता अभावकै कारण कर्जा प्रवाह न्यून थियो । तर, गत आवमा बैंकहरुसँग पर्याप्त ऋण लगानीयोग्य निक्षेप थियो । तर, पनि कर्जा प्रवाह भने बढ्न सकेन । बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक शिथिलताले व्यापार व्यवसायमा लगानी बढाउने बातावरण बनेको छैन । बस्तु तथा सेवाको मागमा आएको कम्पनीले व्यापार व्यवसाय पनि कम क्षमतामा सञ्चालन भइरहेका छन् ।

