काठमाडौँ । अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। पछिल्ला महिनाहरूमा लगातार सुधार हुँदै आएको पर्यटन आगमन यो महिनामा पनि उच्च रह्यो।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा दक्षिण एशियाली मुलुकहरूबाट २९ हजार ६० जना, एसियाका अन्य देशबाट २३ हजार १२७ जना र युरोपबाट ४० हजार ५०० जना पर्यटक नेपाल आएका छन्। त्यस्तै, ओसियानाबाट ६ हजार ८१४, अमेरिकाबाट १६ हजार ४०७, मध्यपूर्वबाट ३ हजार ५४८ र अफ्रिकाबाट ४४३ जना पर्यटक आएका छन्।
पर्यटन बोर्डका अनुसार अक्टोबरमा मात्र भारतबाट १७ हजार २९८ जना पर्यटकले नेपाल भ्रमण गरे। अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट ८ हजार ७१८, चीनबाट ६ हजार ७५५, जर्मनीबाट ६ हजार ३६६ र अष्ट्रेलियाबाट ६ हजार १७७ जना आएका थिए।
त्यस्तै, श्रीलङ्काबाट ५ हजार ५३५, फ्रान्सबाट ५ हजार ४५, बंगलादेशबाट ४ हजार ६४१ र म्यानमारबाट ३ हजार ३८ जना पर्यटक नेपाल आएका थिए।
पर्यटन बोर्डका अनुसार, चालु वर्षको जनवरीदेखि अक्टोबरसम्मको अवधिमा कुल ९ लाख ४३ हजार ७१६ जना विदेशी पर्यटक नेपाल आएका छन्।
कोभिड–१९ पछि क्रमशः सुधारोन्मुख बनेको पर्यटन क्षेत्र यस वर्ष ऐतिहासिक स्तरमा पुग्ने अनुमान बोर्डले गरेको छ।

