काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई निर्देशन दिएका छन्।
महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेपछि गृहमन्त्री अर्यालले कार्कीलाई प्रहरीको मनोबल उच्च राखेर नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। उनले आगामी चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
आईजीपी कार्कीले भने सरकारको निर्देशनअनुसार शान्ति–सुरक्षा कायम गर्न संगठन सधैँ तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन्। गृहमन्त्रीको सचिवालयका अनुसार कार्कीले निर्वाचन सुरक्षा तयारीलाई संस्थागत रूपमा बलियो बनाउने आश्वासन पनि दिएका छन्।
यसैबीच गृहमन्त्री अर्याल र आईजीपी कार्कीले जेनजी आन्दोलनका घाइते तथा प्रतिनिधिसँग भेट गरेका छन्। भेटमा घाइतेहरूले उपचारको व्यवस्था र आन्दोलनका न्यायोचित माग सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेका थिए।

