काठमाडौँ — नेपाल प्रहरीका नवीनतम ३३ औँ प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार पदबहालीसँगै तल्लो दर्जादेखि वरिष्ठ सईसम्मका कर्मचारीका लागि सहुलियत कर्जा बढाउने निर्णय गरेका छन्।
प्रधान कार्यालय, नक्सालमा पदभार ग्रहण गरेपछि बसेको नीति समन्वय समितिको बैठकले प्रहरीकल्याण कोषमार्फत दुई लाख रुपैयाँसम्म आकस्मिक कर्जा दिने व्यवस्था मिलाएको हो। पाँच प्रतिशत ब्याजदरमा उपलब्ध हुने यो कर्जा कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मका कर्मचारीले उपयोग गर्न सक्नेछन्।
प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार आकस्मिक अवस्थालाई लक्षित सहुलियत अल्पकालीन कर्जा उपलब्ध गराउन निर्णय गरिएको हो। यसका लागि चालु आर्थिक वर्षमै अधिकतम् १० करोड रुपैयाँ छुट्याउने तयारी भइरहेको छ।

प्रहरी प्रधान कार्यालयले शिक्षा, स्वास्थ्य तथा घरायसी समस्यामा परेको कर्मचारीलाई लक्षित गरी कार्यविधि बनाएर सहुलियत कर्जा सञ्चालनमा ल्याउने जनाएको छ।

