काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ हजार २ सय रुपैयाँले बढेर २ लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ।
बिहीबार बजारमा सुन तोलाको मूल्य २ लाख ४८ हजार ४ सय रुपैयाँ कायम थियो। लगातार केही दिनयता उतार–चढाव भइरहेका बेला आजको वृद्धि उल्लेख्य मानिएको छ।
यस्तै, चाँदीको मूल्य पनि बिहिबार भन्दा माथि उक्लिएको छ। आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। बिहीबार चाँदी तोलाको मूल्य ३ हजार २८० रुपैयाँ थियो।
सुन–चाँदी दुवैको मूल्यमा आएको वृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै देशभित्रको माग–आपूर्तिको अवस्थाले निर्धारण गरेको व्यवसायीहरूको भनाइ छ।

