काठमाडौँ । नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने भएको छ। नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ढाकामा बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाटमा २० मेगावाट थप गरी प्रक्रिया अघि बढाउने सहमति गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवका अनुसार आवश्यक प्राविधिक तथा प्रबन्धकीय तयारी पूरा गरेपछि बंगलादेशले थप विद्युत् आयात गर्न तयारी जनाएको हो। बैठकमा नेपालतर्फबाट ऊर्जा सचिव चिरञ्जीवी चटौत र बंगलादेशतर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयकी सचिव फर्जाना ममताज सह-अध्यक्ष थिए।
यसअघि बुधबार सम्पन्न संयुक्त कार्यदलको बैठकमा उठेका सिफारिसहरूलाई आधार मानेर निर्देशक समितिले विस्तृत छलफल गरेको देवले बताए। सहसचिव देव र बंगलादेशका अतिरिक्त सचिव केएम अलि रेजाको सह-अध्यक्षतामा कार्यदलको बैठक बसेको थियो।
निर्देशक समितिको बैठकमा ६ प्रमुख विषयमा छलफल भएको मन्त्रालयका प्रवक्तासमेत रहेका देवले जानकारी दिए। बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धनमा दुई देशबीच सहकार्य विस्तार गर्ने समझदारीपत्रमा प्रक्रियागत काम पूरा गरी चाँडै हस्ताक्षर गर्ने निर्णय गरेको छ।
सम्झौताअनुसार बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, विद्युतीय सवारी चार्जिङ स्टेसन विकास, रूफटप सोलार प्रवर्द्धन लगायत क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउनेछ। साथै, दुवै देशबीच क्षमतावृद्धि कार्यक्रम पनि अघि बढाइनेछ।
विसं २०८१ असोज १७ गते नेपालबाट ४० मेगावाट विद्युत् निर्यातका लागि त्रिपक्षीय सम्झौता भएको थियो। उक्त विद्युत् भारतीय ग्रिडमार्फत बंगलादेश पठाइँदै आएको छ। नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड तथा भारतको एनटिपीसी विद्युत् निगमबीच हस्ताक्षर भएको त्यस सम्झौताअनुसार प्राधिकरणले बंगलादेशलाई प्रति युनिट ६.४ सेन्टमा बिजुली बिक्री गरिरहेको छ।
ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतको प्रसारण प्रणालीमार्फत बहरामपुर–भेरामारा लाइन हुँदै बंगलादेशतर्फ विद्युत् प्रवाह भइरहेको छ। मुजफ्फरपुरमा बिजुलीको हिसाब राखिने गरेको छ।
यसअघि २०८० जेठ २ गते सम्पन्न पाँचौँ बैठकले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् निर्यातका लागि आवश्यक सम्झौतामा सहमति जनाएको थियो। प्राधिकरणले भारतीय कम्पनी एनभिभीएनमार्फत बंगलादेशलाई विद्युत् उपलब्ध गराउँदै आएको छ।
प्राधिकरणसँग वर्षायामका पाँच महिना (जुन १५ देखि नोभेम्बर १५) बंगलादेशलाई विद्युत् निर्यात गर्ने व्यवस्था पहिले नै रहेको छ। लामो गृहकार्यपछि सम्भव बनेको यो ऊर्जा व्यापारले नेपाल–बंगलादेश ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याएको ऊर्जा मन्त्रालयको ठम्याइ छ।

