काठमाडौँ । चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पटारी खोलामा निर्माणाधीन पुल वर्षौंदेखि अलपत्र पारेको आरोपमा सरकारले ठेकेदार कम्पनीको ठेक्का रद्द गरेको छ। हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगञ्जले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ठेकेदार काममा नलागेको र सम्पर्कमा समेत नआएको कारण ठेक्का तोडिएको जानकारी दिएको हो।
निर्देशनालयले यसअघि निर्माण व्यवसायीलाई १५ दिनभित्र किन कारबाही गर्न नपर्ने भन्ने स्पष्टीकरण मागेको थियो। तर न स्पष्टीकरण बुझाइयो, न काम नै सुरु भयो। कम्पनीका प्रतिनिधिहरू पनि निरन्तर सम्पर्कविहीन रहेपछि ठेक्का स्वतः रद्द गरिएको कार्यालयले स्पष्ट पारेको छ।
ठेक्का रद्द भएपछि अब सरकारी प्रक्रियाअनुसार थप कारबाही अघि बढ्नेछ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (८) अनुसार भरतपुरमा कार्यालय रहेको लोहनी एन्ड ब्रदर्स प्राली निर्माण कम्पनीको कार्य सम्पादन जमानत जफत गरिने, बाँकी काम सक्न सरकारले खर्च गर्नुपर्ने रकम सरकारी बाँकीसरह असुल–उपर गरिने र कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियासमेत सुरु गरिने निर्देशनालयले जनाएको छ।
वर्षौंदेखि रोकिएको पुलका कारण स्थानीय यातायात प्रभावित भइरहेको बेला ठेक्का रद्द भएपछि अब सरकारले नयाँ ठेक्का प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

