काठमाडौँ — पोर्चुगल पठाइदिने भन्दै रकम उठाएर सम्पर्कविहीन बनेका एक युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। कञ्चनपुरको बेदकोट नगरपालिका–१० का ३३ वर्षीय भीमबहादुर महरलाई काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजिकुमार आचार्यका अनुसार महरले वैदेशिक रोजगारीको लालच देखाएर एक व्यक्तिसँग दुई लाख रुपैयाँ लिएर फरार भएको उजुरी परेको थियो। सोही आधारमा प्रहरीले खोजी गर्दै उनलाई राजधानीबाट समातेको प्रवक्ता आचार्यले बताए।
पक्राउ परेका महरलाई प्रारम्भिक बयान लिएपछि आवश्यक अनुसन्धान तथा अगाडिको कानुनी प्रक्रिया अघि बढाउन वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

