काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको बताएका छन्।
निर्वाचन आयोगद्वारा मंगलबार आयोजित निर्वाचन केन्द्रित छलफल कार्यक्रममा सरकारका मन्त्रीहरूसँग संवाद गर्दै भण्डारीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आयोग दृढ अठोटका साथ लागिरहेको र आगामी दिनमा पनि सोही प्रतिबद्धताका साथ अघि बढ्ने स्पष्ट पारे।
कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले भने, “राष्ट्रपतिबाट निर्वाचन घोषणा भएको दिनदेखि नै आयोग शून्य अवस्थाबाट काममा जुटेको हो। हालसम्म करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। निर्वाचनको वातावरण पनि क्रमशः बनिरहेको छ। निश्चित प्रक्रिया पूरा गरेर निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन र हामी त्यसैमा लागिरहेका छौँ।”
उनले निर्वाचन सञ्चालनका क्रममा संविधान तथा ऐन–कानुन पुराना भइसकेको र प्रविधि तथा केही पद्धतिमा परिवर्तन आवश्यक देखिएको सन्दर्भ पनि उठाउँदै यससम्बन्धी विभिन्न मागसहित दैनिक रूपमा दुई–चार वटा ज्ञापनपत्र आयोगमा आउने गरेको जानकारी दिए।
भण्डारीले निर्वाचन आयोगसँग प्रत्यक्ष सम्बन्धित ऐन–कानुन तथा नियमहरू संशोधनमार्फत सहज बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा खर्च नियन्त्रणसम्बन्धी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राखेको जिज्ञासामा उनले निर्वाचन खर्च मितव्ययी ढङ्गले गर्ने विषयमा आयोग सचेत रहेको बताए।
उनले भने, “नागरिक र सरकारले उठाएका खर्च नियन्त्रणसम्बन्धी सवालमा आयोग पूर्ण रूपमा तयार छ। सरकारी कोषबाट हुने खर्च अत्यन्त मितव्ययी ढङ्गले गर्छौँ। २०७९ सालमा भएका दुई वटा निर्वाचन पनि यही नीतिअनुसार सफलतापूर्वक सम्पन्न गरेका छौँ।”
उनले आगामी निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले गर्ने खर्चमा पनि कडाइका साथ सीमा तोकिने स्पष्ट पार्दै उम्मेदवारको खर्च सीमा निर्वाचन क्षेत्रको भूगोल र मतदाताको सङ्ख्याका आधारमा निर्धारण गरिने जानकारी दिए।

