काठमाडौं । सरकारले सार्वजनिक वित्त व्यवस्थापन तथा हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी)बाट प्राप्त हुने करिब १४ अर्ब ३८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको लहान नगरपालिका–१, ५ र १० स्थित जग्गा तथा सोमा निर्माण भएको भवन रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर छुट दिने निर्णय गरेको छ।
बैठकले आगामी पुस १२ देखि १४ गतेसम्म काठमाडौंमा आयोजना हुने नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको नवौँ बैठकमा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषदले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि अधिकृतस्तरका आठ पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
बैठकले युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णयसमेत गरेको छ।
यसैगरी, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, वंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका दुई जना महासेनानीलाई सहायक रथी पदमा तथा एक जना प्रमुख सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको छ।
छ उपरथी र सात जना महासेनानीको सरुवा गर्ने निर्णय पनि भएको प्रवक्ता खरेलले जानकारी दिए।

