काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने मतदान बिहान ८ बजे शुरु हुने भएको छ।
मंगलबार दिउँसो एक बजेबाट गर्ने भनिएको मतदान प्राविधिक कारणले पटक पटक सार्दासार्दै बेलुकी मात्र महासचिव शंकर पोखरेलले सूचना जारी गर्दै बिहान ८ बजेदेखि मात्रै मतदान सुरु हुने जानकारी दिएका थिए।
पोखरेलले दिएको सूचना अनुसार विद्युतीय भोटिङ प्रणालीमा केही समस्या देखिएकाले मतदानको समय आज बिहान ८ बजेबाट हुने तोकिएको हो।
त्यस्तै, चिसो मौसमका कारण प्रतिनिधिहरूलाई असहज नहोस् भन्ने उद्देश्यले पनि बिहानबाट मतदान गर्ने निर्णय गरिएको पोखरेलले बताएका थिए ।
जारी एमाले ११ औं महाधिवेसनमा १९ पदाधिकारीका लागि ४२ बीच रोचक भिडन्त हुँदैछ भने ३०१ सदस्यीय केन्द्रीय समितिका लागि ६५० जनाबीच प्रतिष्पर्धा छ । २२ सय ६३ मतदाताले मतदान गरि आफ्नो नेतृत्व एवम् अबको नेकपा (एमाले) कस्तो बन्ने/बनाउने छनौट गर्नेछन् ।

