काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनाव प्रचारप्रसारका क्रममा अत्यधिक झण्डाको प्रयोग रोक्ने उद्देश्यसहित नयाँ व्यवस्था प्रस्ताव गरेको छ।
आयोगले तयार पारेको प्रस्तावित आचारसंहिताअनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा अधिकतम १० वटा झण्डा मात्र प्रयोग गर्न पाउने छन्। आवश्यकताभन्दा बढी झण्डा प्रयोग भई दुरुपयोग नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था प्रस्ताव गरिएको आयोगले जनाएको छ।
प्रस्तावित आचारसंहितामा दल वा उम्मेदवारको कार्यालयमा तीन बाइ चार फिट साइजको दलको झण्डा र सोही नापको चुनाव चिन्ह साइनबोर्ड वा कपडामा राख्न पाइने उल्लेख छ। तर, प्रचारप्रसारका उद्देश्यले कुनै पनि प्रकारका डिजिटल बोर्ड, फ्लेक्स, ग्लोसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन तथा श्रव्य–दृश्य सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ।
आयोगका अनुसार दल वा उम्मेदवारको नाम र चुनाव चिन्ह भएको एउटामात्रै तुल वा फ्लेक्स राख्न पाइनेछ। यसैगरी घरदैलो अभियानमा जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस प्रदर्शन गर्न नपाइने प्रावधान प्रस्ताव गरिएको छ।
चुनावी प्रचारका क्रममा बाजागाजा तथा झाँकीसहित जान नपाइने व्यवस्था गरिएको छ। त्यस्तै, अनलाइन, वेबपेज, टेलिभिजन, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम वा काउन्टरमा सन्देश, सडक नाटकजस्ता माध्यमबाट पनि दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने प्रस्ताव गरिएको छ।
यद्यपि, राजनीतिक दल वा उम्मेदवारले एकवटा निजी तथा आधिकारिक वेबपेजमा मात्र प्रचार सामग्री राख्न सक्ने उल्लेख गरिएको छ।
प्रस्तावित आचारसंहिताअनुसार दलको झण्डा वा दल तथा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक रूपमा प्रदर्शन गर्न पाइने छैन। साथै, कुनै पनि प्रकारको भित्तेलेखन गर्न वा गराउन, तथा चारपाङ्ग्रे सवारी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायतका सवारी साधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ।
निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउन यस्तो आचारसंहिता प्रस्ताव गरिएको निर्वाचन आयोगले जनाएको छ।

