काठमाण्डौ। युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेकोप्रति गम्भीर चेतावनी दिएका छन्। युक्रेनको विदेश गुप्तचर सेवाका प्रमुख ओलेह इभासेन्कोको प्रतिवेदन उद्धृत गर्दै उनले ऊर्जा कम्पनी र काल्पनिक कानूनी संरचनामार्फत रुसले प्रतिबन्धबाट जोगिन खोजिरहेको बताएका हुन्।
सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक सन्देशमा राष्ट्रपति जेलेन्स्कीले यस्ता गतिविधिमाथि युक्रेनले निरन्तर निगरानी गरिरहेको र साझेदार मुलुकहरूसँग समन्वय गरेर रुसमाथि दबाब कायम राख्ने स्पष्ट पारे।
“रुसले आफ्ना ऊर्जा कम्पनीहरूलाई विश्वव्यापी प्रतिबन्धबाट जोगाउन अस्थायी मालिक र बनावटी कानूनी योजनाहरू प्रयोग गरिरहेको छ। हामी यी सबै गतिविधिमाथि नजर राखिरहेका छौँ र रुसलाई युद्धका लागि स्रोत जुटाउन नदिन साझेदारहरूसँग सहकार्य गर्नेछौँ,” उनले भने।
इभासेन्कोको प्रतिवेदनमा बेलारुसको भूमिमा रुसले ‘ओरेसनिक’ प्रणाली तैनाथ गरेको विषय पनि समेटिएको छ। राष्ट्रपति जेलेन्स्कीले यसलाई विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा ठहर गरेका छन्। उनका अनुसार यस्ता हतियारहरूको आक्रामक विस्तारले खतरनाक उदाहरण सिर्जना गर्ने भएकाले त्यसविरुद्ध संयुक्त प्रतिक्रिया विकल्प तयार गर्न निर्देशन दिइसकिएको छ।
राष्ट्रपति जेलेन्स्कीले गुप्तचर र सैन्य उत्पादन क्षेत्रमा रुस र चीनबीच बढ्दो सहकार्यप्रति पनि चिन्ता व्यक्त गरे। उनले विशेषगरी अन्तरिक्षमा आधारित खुफिया सूचनामा दुवै देशका संस्थाबीच सहयोग बढिरहेको उल्लेख गरे।
युक्रेनका अनुसार चिनियाँ उपग्रह तस्बिरहरू र युक्रेनी ऊर्जा पूर्वाधारमाथि भएका रुसी आक्रमणबीच सम्बन्ध देखिएको छ। “यस्ता गतिविधिले रुसलाई युद्ध लम्ब्याउन र कूटनीतिक प्रयासहरू कमजोर पार्न सहयोग पु¥याइरहेको छ,” उनले भने। यी सबै विषय साझेदार राष्ट्रहरूसँग उठाइने र कूटनीतिक माध्यमबाट रुसका कदमहरूको प्रतिरोध गरिने पनि उनले स्पष्ट पारे।
यसैबीच, किएभको स्वाटोसिन्स्की जिल्लामा हालै भएको रुसी ड्रोन आक्रमणमा पाँच जना घाइते भएको किएभ सिटी मिलिटरी प्रशासनले जनाएको छ। युक्रेनका अनुसार युद्धका यस्ता घटनाले क्षेत्रीय मात्र नभई विश्वव्यापी सुरक्षामा समेत गम्भीर असर पारिरहेको छ।

