काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फुटसल च्याम्पियनसिपमा सहभागी हुन थाइल्यान्ड जाने नेपाली पुरुष तथा महिला फुटसल टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको छ। प्रतियोगिता जनवरी १३ देखि २६ सम्म थाइल्यान्डको बैङ्ककस्थित नन्थाबरी रङ्गशालामा आयोजना हुँदैछ।
बिदाइ कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङले दुवै टोलीको तयारी राम्रो रहेको उल्लेख गर्दै उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिन शुभकामना दिए। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गर्न लागेको यस च्याम्पियनसिपमा पुरुष र महिला दुवै विधामा दक्षिण एसियाका सात देश सहभागी छन्।
नेपालको महिला फुटसल टोलीका लागि यो प्रतियोगिता ऐतिहासिक छ। पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुँदै गरेको नेपाली महिला टोलीले डेब्यु संस्करणमै उपाधि जितेर नयाँ इतिहास रच्ने लक्ष्य लिएको छ।
एन्फाका महासचिव किरण राईले खेलाडीहरूलाई आत्मविश्वासका साथ अनुशासित भएर राष्ट्रिय प्रतिष्ठाका लागि प्रतिस्पर्धा गर्न आग्रह गरे। प्रतियोगितामा राउन्ड रोबिन प्रणालीअनुसार खेल हुनेछ र सर्वाधिक अङ्क प्राप्त गर्ने टोली च्याम्पियन बन्ने प्रावधान रहेको छ।
महिला टोलीका प्रशिक्षक विक्रम महर्जनले साफ महिला फुटबल च्याम्पियनसिपमा पटक–पटक फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित हुँदै आएको अवस्थालाई स्मरण गर्दै फुटसलमार्फत पहिलो संस्करणमै उपाधि जितेर इतिहास बनाउने अवसर रहेको बताए।
पुरुष टोलीका प्रशिक्षक अनिलबहादुर गुरुङले फुटसलमा नेपालको वरीयता भारतभन्दा माथि रहे पनि सफलता प्राप्त गर्न मैदानमा उत्कृष्ट प्रदर्शन अनिवार्य रहेको उल्लेख गरे। उनले बङ्गलादेश, माल्दिभ्स र भारतबाट कडा चुनौती आउने बताए पनि उपाधि जित्न सके नेपालमा फुटसलको माहोल थप मजबुत बन्ने अपेक्षा व्यक्त गरे।
पुरुष टोलीका कप्तान विजय श्रेष्ठले वर्तमान टोली सन्तुलित र प्रतिस्पर्धात्मक रहेको बताउँदै प्रतियोगिताका लागि टोली पूर्ण रूपमा तयार रहेको दाबी गरे।

