काठमाडौँ । हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले कोशी, मधेस र बागमती प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली भएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा अन्य उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पूर्वी तथा मध्य तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु लाग्ने सम्भावना छ। राति सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पुनः हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

