काठमान्डौ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत चेन्नईमा भएको वार्म अप खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ७ विकेटले सहज रूपमा पराजित गरेको छ।
दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको अर्धशतकीय साझेदारीमा नेपालले युएईले दिएको १४६ रनको लक्ष्य १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो। दबाबविहीन ब्याटिङ प्रदर्शनसँगै नेपालले विश्वकपअघि आत्मविश्वास बढाउने जीत हात पार्यो।
दीपेन्द्रसिंह ऐरीले ३१ बलमा ४ चौका र १ छक्कासहित नटआउट ५० रन बनाए। अर्का छेउमा आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै ३७ बलमा ८ चौका र २ छक्काको मद्दतमा नटआउट ६१ रन जोडे।
यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख दुवै ८–८ रनमै आउट भए। कप्तान रोहित पौडेलले १६ रन जोडे पनि रनआउट हुन पुगे।
पी. चिदम्बरम रंगशालामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे।
नेपालले विश्वकपअघि दोस्रो वार्म अप खेल क्यानडासँग भोलि खेल्नेछ। दुवै वार्म अप खेल चेन्नईकै एमए चिदम्बरम रंगशालामा आयोजना हुँदैछन्। यी खेलपछि नेपाली टोली मुम्बई फर्कने कार्यक्रम छ।
यसपटकको टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्। नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ (माघ २५) मा खेल्नेछ भने अन्तिम खेल स्कटल्यान्डसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका समूह चरणका चारै खेल मुम्बईमा हुनेछन्। समूहको शीर्ष दुईमा पर्न सके नेपाल सुपर–८ मा प्रवेश गर्नेछ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।

