काठमाडौँ । सार्क क्षेत्रको जाइका अल्मुम्नाइहरूको छाता संस्था जाइका अलुम्नाइ एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा नेपाल जाइका अलुम्नाइ एसोसिएसन (जान) का अध्यक्ष डा. रामचन्द्र भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ।
श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित ‘दक्षिण एसियाको सामाजिक तथा आर्थिक विकासमा जापानको योगदान’ विषयक तीनदिने अन्तर्राष्ट्रिय गोष्ठीपछि सम्पन्न निर्वाचनमार्फत डा. भुसाल संस्थाको अध्यक्षमा चयन हुनुभएको हो।
डा. भुसाल हाल नेपाल जाइका अलुम्नाइ एसोसिएसन (जान) का अध्यक्षसमेत हुनुहुन्छ। यसअघि सन् २०१७ देखि हालसम्म उहाँ सार्क क्षेत्रको जाइका अलुम्नाइ एसोसिएसनको महासचिवको भूमिकामा रहनुभएको थियो।
सार्क क्षेत्रका विभिन्न मुलुकका जाइका अलुम्नाइहरूको सहभागिता रहेको उक्त सम्मेलनमा जानका अध्यक्ष डा. भुसाल र उपाध्यक्ष डा. किरण रुपाखेतीले नेपालको तर्फबाट प्रस्तुति दिएका थिए। कार्यक्रममा डा. भुसालको नेतृत्वमा छ सदस्यीय नेपाली टोलीको सहभागिता रहेको जानकी महासचिव शान्तिलक्ष्मी शाक्यले जानकारी दिनुभयो।
कार्यक्रममा श्रीलंकाका लागि जापानी राजदूत आकिको इसोमाताले सार्क क्षेत्रको छाता संगठनका रूपमा रहेको उक्त संस्थाले जापान र सार्क मुलुकबीचको सुमधुर सम्बन्ध कायम राख्दै सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो।
नवनिर्वाचित अध्यक्ष डा. भुसालले जापानले सार्क क्षेत्रमा निःस्वार्थ, भरपर्दो र दिगो सहयोग गर्दै आएको उल्लेख गर्दै जापानबाट इमान्दारी, जिम्मेवारीबोध, अनुशासन, समयनिष्ठता र मेहनत सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सार्क क्षेत्रका जाइका अलुम्नाइहरूले गरेका गतिविधिबारे विभिन्न प्रस्तुति पनि दिइएको थियो। सार्क क्षेत्रका जाइका अलुम्नाइहरूको छाता संगठनका रूपमा सो संस्थाको स्थापना सन् २००८ मा भएको हो भने यसको सचिवालय सन् २०१७ देखि काठमाडौँमा रहेको छ।

