काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काउने अभियानको थालनी भएको बताएका छन् । अब जनताको सेवामा जुट्ने पार्टी निर्माण अभियान सुरु गरिएको बताउनुभएको छ । माओवादी केन्द्र म्याग्दीले बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो धारणा राखेका हुन् ।
नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरेपनि पछिल्लो समय पार्टीले त्रुटी गरेको स्वीकार गर्दै उनले गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको बताए । ‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौं’– अध्यक्ष प्रचण्डले भने– ‘म अन्तरआत्माबाटै भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौं ।’
पार्टीले के के राम्रा काम गर्यो, कहाँ चुक्यो र अब के गर्छ भनेर खुलस्तरुपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै दाहालले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए । ‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन, जनताको काखमा थियौं बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौं’– अध्यक्ष प्रचण्डले भने– ‘अब हामी जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डाका साथ अघि बढ्छौं । हामीमा अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबीच तालमेल हुने हो भने देश नयाँ ठाउँमा उठ्छ । २०८४ मा ६४को भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ । म अहिले यही अपिलका साथ देशब्यापी अभियानमा हिडेको छु र अब चाँडै सिंगो पार्टीपंक्ति देशव्यापी अभियानमा जुट्छ ।’
आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै प्रचण्डले सेटिङमा देश चलाउनेका विरुद्ध धावा बोलिएको बताए । आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको अभियानका कारण जनतामा आशा र भरोसा बढेको समेत दाबी गरे ।
नेपालको असंलग्न परराष्ट्र नीतिलाई थप मजबुत बनाउन आफूले छिमेकीदेखि अन्तर्राष्ट्रिय स्तरमा पहल थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने– ‘मैले भारत भ्रमण गर्दा पहिलोपटक भारतीय प्रधानमन्त्रीले आफ्नै मुखबाट सिमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । भारतलाई दश वर्षमा दश हजार मेगावाट विद्युत विक्री गर्ने र भारतहुँदै बंगलादेशसम्म विद्युत विक्री ऐतिहासिक सम्झौता भयो, यी काम नेपालको इतिहासमा पहिलोपटक भएका हुन् ।”

आफू चीन भ्रमणमा गएको बेलामा परम्परागत आठ वटा नाका खोल्ने समझदारीमा हस्ताक्षर गरिएको र यसले उत्तरी छिमेकीसँगको आवागमन थप सहज बन्ने प्रक्रियाको थालनी गरिएको उल्लेख गर्दै प्रचण्डले आफूले चीनसँग पनि विद्युत ब्यापारको बाटो खोल्ने समझदारीमा हस्ताक्षर गरेको खुलासा गरे । आफूले संयुक्त राष्ट्रसंघको महासभा, विश्व खाद्य सम्मेलन र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट स्पष्ट दृष्टिकोण राखेपछि यसले विश्वब्यापी प्रभाव छाडेको स्मरण गराउँदै दाहालले आफ्नो एउटा निमन्त्रणाको आधारमा संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आएर विश्व समुदायलाई सम्बोधन गर्ने घटना नेपालका लागि ऐतिहासिक परिघटना भएको समेत दाबी गरे ।
आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा गरेका यस्ता ऐतिहासिक कामबाट तर्सेर नै भ्रष्टाचारी, बिचौलिया र दलालहरूले सरकार ढालेको नेपाली जनताले छोटै अवधिमा स्पष्टसँग बुझेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको सरकार संविधान र लोकतान्त्रिक भावनाविपरीतको सरकार हो भन्ने जनतामा स्थापित हुँदै गएको बताए ।
उनले भने– ‘संविधान मिच्न, भ्रष्टाचारीलाई जोगाउन, जनतामाथि निरंकुशता लाद्न र सुशासनको अभियान अवरुद्ध पार्न नै यो सरकार बनेको हो भन्ने अब घामजस्तै स्पष्ट भइसकेको छ ।’ अध्यक्ष प्रचण्डले आफ्नो पार्टीलाई समेत जानकारी नगराएर रातको ११ बजेपछि बिचौलिया, दलालहरुको घरमा बैठक बसेर बनाएको सरकारले राष्ट्र र जनताको पक्षमा काम गर्दैन भनेर आफूहरुले सुरुदेखि भन्दै आएको र यो क्रमशः पुष्टि पनि हुँदै गएको ठोकुवा गरे ।
आफूले पहिलो कार्यकालमा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन गरिएको, गरिब, किसानलाई ऋणमुक्त गरिएको र मध्यपहाडी लोकमार्गलगायत महत्वपूर्ण पूर्वाधारको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री भएको बेलामा १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेको स्मरण गराए । ‘यी प्रतिनिधिमूलक कामबाट पनि जनताले प्रष्टै बुझेका छन् कि कसले जनताको पक्षको पक्षमा काम गर्छ र कसले जनताको विरुद्ध षड्यन्त्रका तानाबाना बुन्छ ?’
माओवादीले जनताको बलमा सरकार सञ्चालन गर्ने अवसर पाउँदा नमूना काम गरेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले देशभरिका स्थानीय तहमा २५ उत्कृष्ट पालिकामध्ये पहिलो, दोस्रो र तेस्रो स्थानसहित ११ वटा माओवादीले नेतृत्व गरेका पालिका आएको बताए । अब पार्टीले स्थानीय तहबाटै समाजवादको अभ्यास गर्ने नीति लिएको उल्लेख गर्दै सडक, सदन र सरकार सबै तहबाट जनताको सेवामा जुट्ने प्रतिबद्धता व्यक्त गरे ।

