वाशिष्ठ
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको ऐतिहासिक तेस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ। विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर, कुइनेपानीमा आयोजित उक्त समारोह सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीज्यूको अध्यक्षता, सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति एवं जवाहरलाल नेहरु विश्वविद्यालय, भारतका प्रा. डा. महेन्द्र पी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमको समुपस्थितिमा शुक्रबार सम्पन्न दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोमा विभिन्न तह र सङ्कायका ३८४१ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कर्णाली प्रदेशको सभ्यताको इतिहास लामो रहेको बताउँदै दीक्षित विद्यार्थीहरुले समाजको हितमा सदैब आफुले योगदान दिदै थप प्रगति पथमा अघि बढ्न शुभकामना दिए ।
प्रमुख अतिथि प्रा. डा. महेन्द्र पी. लामाले दीक्षित विद्यार्थी बीच प्रेरणादायी मन्तव्य पस्किए । लामाले मध्यपश्चिम विश्वविद्यालयले आफ्नो विशेष किसिमको पहिचान बनाउदै अगाडी बढ्ने अवसर रहेको बताउँदै दीक्षित विद्यार्थीहरुलाई कठिनाईका पर्खालहरू भत्काउदै उन्नतिको बाटोमा अगाडी बढ्न आव्हान गरे ।
समारोहमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले उपस्थिति महानुभावहरुलाई स्वागत गर्नुका साथै मध्यपश्चिम विश्वविद्यालयको वर्तमान अवस्था, कार्यक्रम र भावी योजना बारे बताएका थिए । समारोहको संचालन विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले गरेका थिए ।
दिक्षान्त समारोह सुरु हुनु पुर्व मध्यपश्चिम विश्वविद्यालयको सोह्रौं सभाको बैठक सम्पन्न भएको थियो । समारोहमा कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कडेँल, मन्त्रीहरू, विश्वविद्यालय सभाका सभासदहरू, अन्य पदाधिकारीज्यूहरू, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो । मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक फेसबुक पेज मार्फत दीक्षान्त समारोहको प्रतक्ष्य प्रसारण गरिएको थियो ।

