काठमाडौँ । प्रगतिशील लेखक सङ्घ नेपाल, शाखा सुर्खेत र कर्णाली प्रदेशको संयुक्त आयाेजना र अन्य केही साहित्यिक संस्थाकाे सहकार्यमा वीरेन्द्रनगर सुर्खेतमा निरङ्कुश राजतन्त्र विराेधी कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रलेस केन्द्रीय सदस्य दीपक गाैतमले जुवाकाे खेलका जाेकर पत्तीका बादशाहजस्ताे हाँस्यास्पद भूमिका भएका राजाले गणतन्त्रको संस्थागत विकास भइसकेको परिस्थितिमा गद्दी आराेहण गर्ने कुचेष्टा नगर्न चेतावनी दिए । यदि पूर्वराजाले दुस्साहस गर्न लागे जनताले नै गलहत्याउने दाबी गर्दै व्यङ्ग्य कविता वाचन गरे ।
प्रलेस जिल्ला अध्यक्ष जागेश्वर नेपालले घाटमा सेलाइसकेकाे राजतन्त्र ब्युँताउन खाेज्नु मूर्खता भएकाे बताउँदै जनता सबै सचेत र सङ्गठित हुन आग्रह गरे । “साँढे ” नामक प्रतीकात्मक कविता वाचन गर्दै बदनाम भई ढलिसकेकाे निरङ्कुशता पुनः ल्याउन खाेज्नु विक्षिप्त मानसिकताको उपज भएकाले त्यस्ताे दिवास्वप्न नदेख्न र त्यस्तो दुस्साहसको चंगुलमा नपर्न सबैलाई चेतावनी दिए । प्रलेस सुर्खेतका पूर्व अध्यक्ष टीकाप्रसाद पाेखरेलले देउडा गीत मार्फत राजतन्त्रको सपना नदेख्न खबरदारी गरे । पेसागत महासङ्घ नेपालका केन्द्रीय सदस्य डाेरप्रसाद उपाध्यायले गणतन्त्रमा अदृश्य रुपबाट शासनमा आउने सपना पूरा हुन नसक्ने बताए ।
प्रगतिशील लेखक संघ कर्णाली प्रदेशका सचिव हरिलाल महताराले निरङ्कुशता विराेधी रचना वाचन गरे । जिल्ला समन्वय समिति कालिकोटका पूर्व अध्यक्ष अनिपाल शाही, मायाराम न्याैपाने, राजमाे नेपाल जिल्ला सुर्खेतकी सदस्य कृष्णकुमारी रावल लगायतले आफ्ना-आफ्ना धारणा राखेकाे कार्यक्रम प्रगतिशील स्रष्टा एवम् भेरी साहित्य समाज सुर्खेतका अध्यक्ष थानेश्वर लामिछानेको अध्यक्षता र प्रलेस कर्णाली प्रदेशका अध्यक्ष युद्ध विक्रम शाहीको सञ्चालनमा सम्पन्न भएकाे हाे ।
-वाशिष्ठ

