कार्यक्रमको सुरुवात दिवंगत स्रष्टा बोधविक्रम अधिकारीको ‘बाबुछोराको गन्थन’ शीर्षकको कथा वाचनबाट गरिएको थियो । ऐतिहासिक साहित्यिक पत्रिका शारदा (विसं १९९२) मा प्रकाशित यो कथा उपन्यासकार शुकदेव उपाध्यायले वाचन गर्नुभएको थियो । यसपछि, २०२० देखि २०७० को दशकसम्म प्रकाशित कथाहरूको वाचन गरिएको थियो ।
२०२० को दशक अन्तर्गत हरि अधिकारीले २०२८ सालमा मधुपर्कमा प्रकाशित ‘रामलालको आकाश’ (आफ्नै कथासङ्ग्रह, २०४० बाट) वाचन गर्नुभएको थियो । २०४० को दशकका लागि योगेन्द्र तिमिल्सिनाले २०४६ सालमा मधुपर्कमा प्रकाशित ‘दिग्भ्रम’ (कथासङ्ग्रह ‘अनन्त आकाश’ बाट) वाचन गर्नुभएको थियो । मन्दिरा मधुश्रीले २०५० को दशकको प्रतिनिधित्व गर्दै मधुपर्क मासिक २०५९ साउन अंकमा प्रकाशित ‘मासुको तिर्सना’ वाचन गर्नुभएको थियो । २०६० को दशकको कथाको रुपमा रासाले गरिमा मासिक २०६९ चैत अंकमा प्रकाशित ‘आर्तनादः एउटा कोलाज कथा’ वाचन गर्नुभयो। अन्त्यमा, २०७० को दशकको लागि प्रमोद सारंगले आफ्नो कथासङ्ग्रह ‘झ्यालबाट विश्व चियाउँदै’ बाट ‘अन्धकारमा हुरी चलेको सडक’ शीर्षकको कथा वाचन गर्नुभएको थियो ।
कार्यक्रममा अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै यस कार्यक्रमले विभिन्न पुस्ताका कथाकारहरूलाई एउटै मञ्चमा ल्याई नेपाली कथा साहित्यको इतिहास र विकासक्रमलाई उजागर गर्ने उद्देश्य राखेको बताउनुभयो। यसबाट नेपाली साहित्यको कथा विधाको पुनर्जागरण र विकासमा योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
अर्का परिकल्पनाकार पुष्कर लोहनीले यस अभियानले निरन्तर पाएको माया र समर्थनप्रति आभार व्यक्त गर्नुहुँदै १२खरी डिजिटल मिडियाको कथालेखन प्रतियोगिता र ‘आरब्ध’ द्वैमासिकले प्रकाशित विशेष अंकको प्रशंसा गर्नुभयो। उहाँले यस्ता प्रयासहरूले नेपाली कथा विधाको विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
अनुसन्धानकर्ता एवम् निवन्धकार समिना खनाल ‘पृथा’ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। साहित्यकार पुष्कर लोहनी निवासस्थित सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
वाचित कथाहरूमा कथाकार हरि अधिकारीको कथा रामलालको आकाश र मन्दिरा मधुश्रीको कथा मासुको तिर्सनाले भुतुक्क पारेको कार्यक्रमका सहभागी मिसन अधिकारीले बताए । योगेन्द्र तिमलसिनाको कथा दिग्भ्रम पनि गज्जब कथा हो तर दिनेश अधिकारीको गीत ‘सोचेजस्तो हुन्न जीवन सम्झेजस्तो हुन्न जीवन… जस्तो भोग्यो त्यस्तै हुन्छ …’ लाई तारादेवीको गीत उल्लेख गरिएकोमा कथाकारले तथ्यलाई जस्ताको तस्तै प्रस्तुत गर्न आवश्यक रहेको औंल्याए । ‘तारादेवीले गाएको गीत जस्तो भनिदिए पनि अलि तालमेल मिल्न जान्थ्यो’-अधिकारीले कार्यक्रमपश्चात टपटेन खबरसित बताए ।

