काठमाडौँ । चैत ४ गते मध्यराति प्रहरी नायव उपरीक्षक अनिल घिमिरे नेतृत्वको टिमले झोर महांकालबाट ना ७ ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लियो ।काठमाडौँबाट रसुवा जान लागेको ट्रकले करोडौँ नेपाली रुपैयाँ बराबरको युरो र डलर बोकेको सुराक पाएपछि खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले टोखा क्षेत्रबाट ट्रक नियन्त्रणमा लिएको थियो ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय कुन्साङ लामाले चलाएको ट्रक नियन्त्रणमा लिँदा ड्राइभर सिट ‘वोनट’ भन्दा माथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड १ लाख ६० हजार बराबरको विदेशी मुद्रा भेटिको थियो । ‘फुच्चे’ उपनामले चिनिने कुन्साङ यत्रो परिणाममा युरो एवम् डलरसहित कता जाँदै थिए ? अनुसन्धानको विषय भएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार लामा ‘युरो र डलर लुकाएर आरोपी रसुवाको केरुङ तर्फ जाँदै थिए ।
प्रहरीलाई सुराकी दिनेलाई इनाम दिने व्यवस्था नेपालको कानुनले गरेको छ । २५ करोड भन्दा बढी रकम बरामद गर्न प्रहरीलाई सुराक दिने व्यक्तिले कति पाउँछन् पुरुस्कार ? विदेशी बिनियम नियमित गर्ने ऐन, २०१९ अनुसार सुराकी दिने व्यक्तिले बीस प्रतिशत रकम पाउँने व्यवस्था छ। ऐनमा भनिएको छ, ‘पक्राउ भई आएको विदेशी मुद्रालाई नेपाली मुद्रामा परिणत गर्दा कायम हुन आएको बिगोको सयकडा बीस प्रतिशत त्यस्तो सुराकी दिने व्यक्तिलाई इनाम दिइनेछ ।’
कुसाङ लामाले चलाएको ट्रक पक्राउ गर्न खबर गर्नेले करिब ५ करोड नेपाली रुपैयाँ पाउने छन् । सुराक दिनेको विवरण गोप्य राख्नुपर्ने कानुनी व्यवस्था छ । मुद्दा फैसला भएपछि मात्रै पुरस्कार रकम निकासा हुन्छ ।

