काठमाण्डौ । नेपालले संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को नेतृत्व गर्ने अवसर प्राप्त गरेको ल छ। बिहीबार भएको निर्वाचनमा नेपाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएको हो।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, राजदूत लोकबहादुर थापाले यसलाई ‘ऐतिहासिक क्षण’ भन्दै नेपाल र बहुपक्षीयताप्रतिको नेपालको अटल प्रतिबद्धताको सम्मान भएको बताए ।
न्युयोर्कस्थित स्थायी नियोगका अनुसार, राजदूत थापाले अध्यक्षको रूपमा दिगो विकास लक्ष्यहरू हासिल गर्न, साझेदारी र बहुपक्षीयतालाई थप बलियो बनाउन तथा हालसम्मका प्रयासहरूलाई अझ प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, ‘म बहुपक्षीयतामा विश्वास पुनर्स्थापित गर्न, विभाजन कम गर्न, जोखिममा रहेकालाई सशक्त बनाउन र प्रतिबद्धतालाई कार्यमा बदल्न जोड दिनेछु।’
अध्यक्षमा नेपाल निर्वाचित भएसँगै आगामी वर्षका लागि अल्जेरिया, स्पेन, डोमिनिकन गणराज्य र आर्मेनिया उपाध्यक्षमा निर्वाचित भएका छन्।

