काठमाण्डौ । नेपालमा मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थानको आसपासमा अवस्थित छ।
यसको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम सामान्यतया बदली भएको छ। यस्तै, मधेस प्रदेशमा भने मौसम मुख्यतया सफादेखि आंशिक बदली छ।
शुक्रबार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ। यस क्रममा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगका धेरै ठाउँमा र तराईका केही ठाउँमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार आज राति देशका पहाडी क्षेत्रमा सामान्यतया बदली हुनेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ।

