काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिनुपरेको थियो, तर रोचक कुरा त के छ भने, उनलाई नागरिक उन्मुक्ति पार्टीकै एक जना सांसदले समर्थन दिएका छन्।
नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले मुख्यमन्त्री शाहको पक्षमा मतदान गरेका हुन्। नाउपाका ७ सांसदमध्ये ६ जना बैठकमा अनुपस्थित थिए। यही एक मतले मुख्यमन्त्रीलाई थप बल पुगेको छ।
मुख्यमन्त्रीलाई नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ सांसदको पनि साथ मिलेको छ। यी दुवै दलले आफ्ना सांसदलाई विश्वासको मत दिन ह्वीप जारी गरेका थिए।
५२ सदस्यीय (एक जना निलम्बनमा) सुदूरपश्चिम प्रदेश सभामा मुख्य मन्त्री शाहलाई २९ जना सांसदको समर्थन प्राप्त भएको छ। मुख्यमन्त्रीलाई विश्वासको मत पाउन २७ जनाको समर्थन आवश्यक थियो।

