काठमाडौँ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सरकारका विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तरको कार्यक्रम रहेको छ ।
सभामा सांसदले सोधेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसित सम्बन्धित सांसदहरूले सोधेका प्रश्नहरूको सम्बन्धित मन्त्रालय सम्हालेका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
यसका साथै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि छलफलका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
साथै विभिन्न संसदीय समितिका बैठक पनिबस्ने कार्यतालिका छ ।
प्रतिनिधि सभाको बैठकबाहेक आज चारवटा संसदीय समितिका बैठक पनि बस्दैछन् । यी बैठकहरुमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुनेछ ।
बुधबारको अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफावार छलफल हुनेछ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्रीसँग यही साउन २३ गते कैलाली कारागारमा भएको घटना र त्यसको समाधानका उपायबारे छलफल हुनेछ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ माथि छलफल गर्ने कार्यक्रम छ ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको पनि बैठक बस्दैछ । यस समितिले महालेखापरीक्षकको ६२औँ प्रतिवेदनका मुख्य पक्षहरुमाथि छलफल गर्ने कार्यसूची छ ।

