काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो दोस्रो विधान महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ। यही भदौ २० देखि २२ सम्म गोदावरीको सनराइज हलमा हुने यस महाधिवेशनमा कुल २,३९२ जना सहभागी हुनेछन्।
महाधिवेशनमा सहभागी हुनेमा २,१२८ जना प्रतिनिधि र २६४ जना आयोजक छन्। एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, २०७८ सालमा चितवनमा भएको १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई नै यस विधान महाधिवेशनको प्रतिनिधिको रूपमा मान्यता दिइएको छ। यसकारण, केही केन्द्रीय सदस्यहरू पनि आयोजकको हैसियतमा सहभागी हुनेछन्।
डिजिटल कार्ड र स्वयंसेवकको व्यवस्था
महाधिवेशनलाई व्यवस्थित बनाउन सहभागीहरूका लागि डिजिटल कार्डको व्यवस्था गरिनेछ। यसका साथै, महाधिवेशनस्थलमा कम्तीमा ३०० जना स्वयंसेवक परिचालन गर्ने तयारी भइरहेको छ।
सञ्चारकर्मीहरूका लागि समाचार सम्प्रेषणमा सहजता होस् भनी एक व्यवस्थित ‘समाचार डेस्क’ पनि स्थापना गरिने भएको छ।
सार्वजनिक यातायात र प्रतिवेदन प्रस्तुत
महाधिवेशनलाई भव्य बनाउन सातदोबाटोदेखि गोदावरीसम्म स्वागतद्वारहरू राखिनेछन्। साथै, सहभागीहरूलाई सहज होस् भनेर सातदोबाटोदेखि गोदावरीसम्म सार्वजनिक यातायातको प्रबन्ध पनि गरिनेछ।
महाधिवेशनमा पार्टीका विभिन्न नेताहरूले प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
Advertisement

