काठमाडौँ । देशभक्त समाजवादी मोर्चा नेपालका अध्यक्ष गोपाल किराँती नेतृत्वको समूह नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा समाहित भएको छ।
सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष किराँतीले संयुक्तरूपमा सहमति पत्र सार्वजनिक गर्दै माओवादी केन्द्रमा औपचारिक एकता भएको घोषणा गरेका हुन्।
दुई पक्षबीच कात्तिक १५ गते नै सहमति भइसकेको भए पनि सो दस्तावेज सार्वजनिक सोमबार गरिएको हो। सहमति पत्रमा नेपाली राजनीतिमा उत्पन्न ‘अभूतपूर्व जोखिमपूर्ण’ अवस्थालाई सही दिशातर्फ डो–याउन र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न क्रान्तिकारी शक्तिहरूबीचको एकता अपरिहार्य भएको उल्लेख छ।
सहमति पत्रमा भनिएको छ, “जनयुद्धका बेला अपनाइएका हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीतिअन्तर्गत देशका कान्तिकारीबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्यका रूपमा अघि आएको हो।”
किराँती र प्रचण्डले हस्ताक्षर गरेको तीन बुँदे सहमतिमा विगतका वैचारिक, राजनीतिक तथा सांगठनिक गल्ती कमजोरीको वस्तुनिष्ठ समीक्षा गरी नयाँ आधारमा एकता र रुपान्तरणको प्रक्रिया अघि बढाउने उल्लेख छ।
तीन बुँदे सहमतिको मुख्य अंश
१. विगतमा भएका वैचारिक, राजनीतिक तथा सांगठनिक कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली गठन गर्ने। उक्त समीक्षाको मार्गदर्शनमा जनस्तरबाटै ‘एकता–संघर्ष–रूपान्तरण’ प्रक्रिया अघि बढाई नयाँ आधारमा समाजवादी कार्यभार उठाउने क्षमता विकास गर्ने।
२. कमरेड गोपाल किराँतीद्वारा प्रतिपादित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रका विषयमा पार्टीभित्र व्यवस्थित छलफल गरी ‘पूर्ण जनवाद’का आधारमा निर्णय गर्ने।
३. माथिका सहमतिहरू कार्यान्वयन गर्न देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराँती नेतृत्वमा रहेका मार्क्सवादी क्रान्तिकारीहरू नेकपा (माओवादी केन्द्र)मा ध्रुवीकृत हुने।


