काठमाडौं/मुम्बई । पहिलोपटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको भारतीय महिला क्रिकेट टोलीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले ५१ करोड भारतीय (यो रकम नेपाली रुपैया ८१ करोड ६० लाख हो ।) रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ।
बीसीसीआईका सचिव देवजित सैकियाले भनेका छन्, “महिला खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको सम्मानमा बोर्डले ५१ करोड रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। यो रकम खेलाडी, प्रशिक्षक, छनोटकर्ता र सहयोगी कर्मचारीहरूबीच बाँडिनेछ।”
यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पनि उपाधिसहित १४ मिलियन डलर अर्थात् करिब १२४ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो। यस अनुसार, दुवै पुरस्कार मिलाएर भारतीय महिला टोलीले पौने २ करोड भारतीय रुपैयाँ पुरस्कार पाउने भएको छ।
आइतबार नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै पहिलो पटक महिला विश्वकपको उपाधि जितेको थियो।
महिला एकदिवसीय विश्वकपको इतिहास १९७३ बाट सुरु भएको हो भने भारतले पहिलोपटक सन् १९७८ मा प्रतियोगितामा सहभागिता जनाएको थियो। यस वर्षको जीतले भारतका महिला क्रिकेटरहरूको इतिहासमै एक नयाँ अध्याय थपेको छ।

