काठमाडौं — नेपाल र भारतबीच निर्माण हुने नयाँ अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभमा नेपाल विद्युत् प्राधिकरणको पनि समान हिस्सेदारी रहने भएको छ।
नेपाल–भारतबीच इनरुवा–पूर्णिया र दोदोधारा–बरेली गरी थप दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन संयुक्त लगानीमा निर्माण गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
संयुक्त निर्देशक समिति (जेएसी)को १२औं बैठकमा सो निर्णय भइसकेको र त्यसको कार्यान्वयनका लागि हालै नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डियाबीच ‘ज्वाइन्ट भेन्चर’ तथा ‘सेयरहोल्डर्स एग्रिमेन्ट’मा हस्ताक्षर भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले जानकारी दिए।
उनका अनुसार, यी दुवै प्रसारण लाइनको नेपाली खण्ड र भारतीय खण्ड निर्माणका लागि नेपाल र भारतमा छुट्टाछुट्टै संयुक्त कम्पनी स्थापना गरिनेछ। नेपाली खण्डमा प्राधिकरणको सेयर ५१ प्रतिशत र भारतीय खण्डमा ४९ प्रतिशत रहनेछ।
सहसचिव देवका अनुसार प्राधिकरणले यी प्रसारण लाइनहरूमा आवश्यक ‘क्यापासिटी बुकिङ’ गरिसकेको छ। हालसम्म प्राधिकरणले ११ हजार ४३३ मेगावाट क्षमताको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरिसकेको छ। त्यस्तै, १२ हजार ६४६ मेगावाट बराबरको विद्युत् खरिद–बिक्रीका लागि आवेदन प्राप्त भएको र तीमध्ये ५ हजार २३० मेगावाट क्षमताका आयोजना ग्रिड कनेक्सन एग्रिमेन्टमा पुगिसकेका छन्।
मन्त्रालयका अनुसार, पीपीए भइसकेका र आवेदन दिइएका परियोजनाबाट उत्पादित विद्युत् बजार सुनिश्चित गर्न अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ।
हाल ढल्केवर–मुज्जफरपुर ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा छ भने न्यू बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणधीन अवस्थामा छ। सो लाइन सन् २०२६ भित्र सम्पन्न हुने अपेक्षा गरिएको छ।
ढल्केवर–मुज्जफरपुर प्रसारण लाइनको नेपाली र भारतीय दुवै खण्ड संयुक्त कम्पनीमार्फत सञ्चालनमा रहेका छन्। नेपालतर्फको संयुक्त कम्पनीमा प्राधिकरणको ५० प्रतिशत सेयर छ।

