काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्दा, दोस्रो खेल अपराह्न ४:०० बजे कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्।
चार अंकसहित अङ्क तालिकाको तेस्रो स्थानमा रहेको चितवन आज जितसँगै शीर्षस्थान नजिक पुग्ने दाउमा छ। काठमाडौँले भने तीन खेलमा दुई अंक मात्र जोडेको छ, जसले गर्दा प्लेअफ आकांक्षा जोगाउन उसले आजको खेल जित्नैपर्ने दबाब छ।
यस्तै, तीन खेलबाट दुई अंक बटुलेको कर्णाली याक्सका लागि दोस्रो खेल ‘कर या फर’ जस्तै बनेको छ। जित जुटाउन सकेमा उसको प्लेअफ यात्रा जोगिनेछ, नत्र यात्रामै ब्रेक लाग्नेछ।
अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगर किङ्सले भने चार खेलमा छ अंक जोडेर बलियो स्थितिमा छ। आज कर्णालीलाई पराजित गर्न सके विराटनगरको प्लेअफ प्रवेश लगभग सुनिश्चित हुने विश्लेषकहरूको भनाइ छ।
टिमहरूको वर्तमान अवस्था, प्लेअफ समीकरण र मैदानको प्रतिस्पर्धी माहोलले आजका दुवै खेल एनपीएलका महत्वपूर्ण मोडका रूपमा हेर्ने अपेक्षा गरिएको छ।

