काठमाडौं, मंसिर ११ — विश्व महिला सम्मेलन (World Women Conference) अन्तर्गतको सैद्धान्तिक कार्यशाला काठमाडौंको कपनस्थित सुकुण्डा पार्टी प्यालेसमा हिजो बाट औपचारिक रूपमा सुरु भएको छ। तीन दिनसम्म चल्ने यो कार्यशाला मंसिर १३ गतेसम्म निरन्तर जारी रहनेछ।
२० भन्दा बढी देशका महिला अभियन्ता, नीति–विश्लेषक, अनुसन्धानकर्ता र सामाजिक आन्दोलनका प्रतिनिधिहरूको सक्रिय सहभागितामा सञ्चालन भइरहेको कार्यशालामा विश्व साम्राज्यवाद, महिला मुक्ति आन्दोलन, विश्व पर्यावरण संकट, समाजवाद र वैकल्पिक विकास मोडेल लगायतका विषयमा गम्भीर बहस भइरहेको आयोजकहरूले बताएका छन्।
उद्घाटन सत्रमै विभिन्न देशबाट आएका सहभागीहरूले विश्वव्यापी असमानता, लैंगिक हिंसा, महिलामाथिको आर्थिक–सामाजिक दमन, वातावरणीय विनाश र साम्राज्यवादले सिर्जना गरेको बहुआयामिक संकटबारे आफ्ना धारणा राखेका छन्। कार्यशालाले विश्वभरका महिलाहरूको साझा संघर्ष, अन्तर्राष्ट्रिय एकता र परिवर्तनको वैचारिक दिशाबारे महत्वपूर्ण निष्कर्ष प्रदान गर्ने अपेक्षा गरिएको छ।हिजोदेखि सुरु भएको सम्मेलनमा महिला सशक्तीकरणका नयाँ रूपरेखा, वैचारिक विमर्श र भविष्यका साझा कदमबारे विस्तृत छलफल भइरहेको छ।

