काठमाण्डौ— चर्चित ब्रिटिस र्यापर ‘गेट्स’ नामले परिचित क्लार्क स्यामुयलले आफ्नै गाडीको ठक्करबाट एक नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा दोष स्वीकार गरेका छन्। बेलायतको महानगरीय प्रहरीले जारी गरेको सूचना अनुसार स्यामुयलले दुर्घटनामा आफ्नो संलग्नता औपचारिक रूपमा स्वीकार गरेका हुन्।
प्रहरीका अनुसार ४१ वर्षीय स्यामुयलले ३० माइल प्रतिघण्टा गति सीमा तोड्दै ६० माइलप्रति घण्टा भन्दा बढी गतिमा कार चलाउँदा सडक पार गर्दै गरेका २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङलाई ठक्कर दिएका थिए। घटना गत अक्टोबर १८ राति ११:३० बजे लन्डनको इल्फोर्डस्थित रेडब्रिजमा भएको थियो।
ठक्करपछि स्यामुयल रोकिनुको साटो घटनास्थलबाट भागेका थिए।गम्भीर घाइते तामाङको दुई दिनपछि उपचारका क्रममा मृत्यु भएको थियो।
गत वर्ष सेप्टेम्बरमा मात्र बेलायत पुगेका तामाङ युनिभर्सिटी अफ रोह्याम्पटनमा ‘बीएस्सी बिजनेस म्यानेजमेन्ट’ दोस्रो वर्षमा अध्ययनरत थिए।
महानगरीय प्रहरी निरीक्षक मार्क ब्रथवेटले घटनालाई अप्रतिकार्य क्षति भन्दै पीडित परिवारप्रति संवेदना व्यक्त गरे। उनले दोष स्वीकार गर्नु न्यायको दिशामा “महत्त्वपूर्ण कदम” भएको उल्लेख गरे।
बेलायतस्थित कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले पनि दोष स्वीकार गरिएको तथ्य पीडित परिवारको न्यायका लागि सकारात्मक भएको बताए। दूतावासले घटनापछि सक्रिय रूपमा सहयोग गरिरहेको उनको भनाइ छ।
दुर्घटनापछि भागेका स्यामुयलको वुडफोर्डस्थित घरमा प्रहरीले भोलिपल्ट गरेको खोजतलासमा उनको नाममा दर्ता र विमा गरिएको कार क्षतिग्रस्त अवस्थामा फेला परेको थियो।
यस प्रकरणमा स्यामुयललाई फेब्रुअरी १२ (माघ २९) मा अदालतले सजाय सुनाउने जनाइएको छ।

