काठमाडौँ — यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरूको कार्यान्वयन अवस्था मूल्यांकन गर्न सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दीपक सुवेदीको अध्यक्षतामा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्यलाई सदस्य रहेको आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री जगदीश खरेलले जानकारी दिए।
बैठकले नेपाल न्याय सेवाका न्याय समूह अन्तर्गत चार जना सहसचिवहरूको सरुवा गर्ने निर्णय पनि गरेको छ।
यस्तै, मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८२/८३ का लागि किसानले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ। साथै, उखु किसानलाई उपलब्ध गराइने अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गरिएको छ।
मंगलबारको मन्त्रिपरिषद बैठकले १८ निर्णय गरेको छ ।



